Saturday, October 5, 2024

एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली मलेसिया जाँदै

spot_img

बुधबारदेखि सुरु हुने एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज मलेसिया जाँदैछ ।

प्रतियोगिताकै तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोली साेमबार बिहान १० बजे उतैबाट मलेसियाका लागि प्रस्थान गर्ने टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

टोलीका मुख्य सदस्य सन्दीप लामिछाने पनि क्यारेवियन प्रिमयर लिग सीपीएल छाडेर मंगलबार सिधै मलेसिया पुग्नेछन् । यस प्रतियोगितामा जित हासिल गर्न सके नेपालले भारत र पाकिस्तानजस्ता मुलुकको सिनियर टोलीबिरूद्द खेल्न पाउनेछ ।

नेपालले बुधबार ओमानसँगको खेलसँगै एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोविन प्रणालीअनुसार हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसको विजयी टोलीले आसन्न एसिया कपको समूह बी मा रहेर खेल्नेछ । जहाँ एशियाका महारथी टोलीहरु भारत र पाकिस्तान छन् ।

यसअघि एक साताको विशेष प्रशिक्षणमा नेपालले खेलेका तीन अभ्यास खेलमा जित हासिल गरेको थियो । श्रीलंकाका प्रिमियर लिग टोलीहरु आर्मी क्रिकेट क्लव, ब्लुमफिल्ड क्रिकेट क्लव र कोल्ट्स क्रिकेट क्लवलाई नेपालले पराजित गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय