२ असोज , काठमाडौं । चालू आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व उठेको छ । यो गएको वर्षको यही समयको तुलनामा ३७% ले धेरै हो । राजश्व संकलन निकै सन्तोषजनक रहेको अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो ।
सरकारले कर सेवालाई घरदैलोमै पुर्याएको, आधुनिक प्रविधिको प्रयोग बढाएको, अनुगमन बलियो बनाएको, भन्सारमा कडाई गरेकोलगायतका कारण राजस्व बढेको मन्त्री खतिवडाले बताउनुभयो ।
यस्तै २ महिनामा १ खर्ब ३ अर्ब खर्च भएको छ । जसमा चालुतर्फ ९६ अर्ब र पुँजिगततर्फ ७ अर्ब मात्र खर्च भएको छ । चालुतर्फ पोहोरको २ महिनाको अवधिको भन्दा कम खर्च हो तर पूँजीगततर्फ भने धेरै हो ।
करको विवाद कम भयो
अर्थमन्त्री खतिवडाले करको बारेमा बुझ्ने र बुझाउनेले कुरा बुझेकोले करको विवाद साम्य हुँदै गरेको बताउनुभयो ।
“कर तिर्नेले पनि बुझ्दै गए, अनि कर लगाउनेले पनि धेरै कर लगाउन नहुने रैछ भन्ने बुझेकाले यसको विवाद कम हुँदै गएको छ, विवाद र वहसले नै निकास ल्याउँछ भन्ने प्रष्ट भएको छ ।” मन्त्री खतिवडाले भन्नुभयो ।