३१ भदौ, काठमाडौं । जुनियर अफिसरसहित मातहतका ९ जना प्रहरी कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका इन्सपेक्टरलाई सो स्थानको जिम्मेवारीबाट हटाएको छ ।
प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले दुई इन्स्पेक्टरलाई हालको जिम्मेजारीबाट हटाएर रिजर्भ युनिटमा पठाइएको जानकारी दिए ।
उनका अनुसार महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजु लामालाई सामाखुसीस्थित पहरा गणमा पठाएको छ भने काँडाघारीका इन्स्पेक्टर हरि ओझालाई २ नम्बर गणमा पठाइएको छ ।
लामाको ठाउँमा इन्सपेक्टर एलिजा गिरीलाई कोटेश्वर प्रभागको जिम्मेवारी दिइएको छ भने काँडाघारीमा इन्सपेक्टर सुधिर राईलाई पठाइएको छ ।
शनिबार अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुङ्गाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई नियन्त्रणमा लिएको थियो ।
श्रेष्ठले ठेकेदारसँग रु ३० हजार, प्रसनी ढुङ्गाना र प्रहरी हवल्दार भारतीले रु ४५ हजार, प्रहरी हवल्दार यादव र चौधरीले रु पाँच–पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ ।
त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।
प्रहरी जवान रिजाल र रोकाले रु पाँच हजार र प्रहरी जवान कुँवर र पटेलले ठेकेदारसँग रु पाँच÷पाँच हजार घुस मागेका थिए ।
बानेश्वरको विभिन्न क्षेत्रबाट अख्तियारको फन्दामा परेका उनीहरुको साथबाट रु एक लाख बरामद भएको थियो ।
यसैबीच प्रहरी प्रधान कार्यालयले काँडाघारी र कोटेश्वरमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई तानेर नयाँ टिम पठाउन लागिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी मनोज नेउपानेले रातोपाटीलाई जानकारी दिए ।
डिआईजी नेउपानेले भने, ‘काँडाघारी र कोटेश्वरमा नयाँ सेट पठाउँदै छौं, त्यहाँ कार्यरत सबैलाई अन्यत्र खटाएर आन्तरिक अनुसन्धान गर्छौं ।’