१९ मङ्सिर । नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेशनमा हस्ताक्षर भएको छ । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको दुई दिने अनौपचारिक वार्तापछि बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चाका बीच आज बिहान दुवै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन् । योसँगै अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई आधिकारिक रूपमा अघि बढाउने पक्का भएको छ ।
यसअघि तयार पारेको फ्रेमवर्कको मस्यौदामा ग्रान्ट फाइनान्सिङ लेखिएको ठाउँमा एड फाइनान्सिङ राखेर हस्ताक्षर गरिएको छ । ग्रान्टको अर्थ अनुदान भन्ने हुन्छ भने एडकाे अर्थ सहायता भन्ने हुन्छ । त्यो अनुदान या ऋण जे पनि हुन सक्छ ।
बीआरआई अन्तर्गत ऋण नलिने नेपाली कांग्रेसको अडानका कारण अनुदानमात्रै लिनेगरी फ्रेमवर्क र परियोजनाहरूको सूची तयार पारेर सरकारले चीनको विदेश मन्त्रालयमा पठाएको थियो । तर नेपालले प्रस्ताव गरेको फ्रेमवर्कको मस्यौदाको ग्रान्ट फाइनान्सिङ भन्ने शब्द हटाएर चीनले फाइनान्सिङ मात्रै राखेपछि सम्झौता भएको थिएन ।
बीआरआई अन्तर्गत ऋण नलिने नेपालको प्रस्तावमा चीन असहमत भएपछि नेपाल र चीनका अधिकारीहरूबीच भएको छलफलमा बीचको बाटो खोज्ने सहमति भएको हो ।