नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको मन्त्रालयका प्रवक्ता ढकालले बताउनुभयो । नेपालले टोखा–छहरे सुरुङमार्ग अनुदानमा बनाइदिन चीन सरकारलाई प्रस्ताव गरेको छ । नेपालको प्रस्तावसम्बन्धी पत्र चीनले स्वीकार गरेको हो ।
सहमतिको दोस्रो बुँदामा नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ । यस्तै नौ तले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारीपत्र र आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।