२७ कात्तिक । अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि नै डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनिक टिम बनाउन थाल्नुभएको छ । सन् २०२५ को जनवरी २० तारिखमा ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिने कार्यक्रम छ । तर त्यसअघि नै उहाँको प्रशासनिक टिमले आकार लिन थालिसकेको बीबीसीले जनाएको छ ।
ट्रम्पले फ्लोरिडाका रिपब्लिक विधायक माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा प्रस्ताव गर्नुभएको खबरमा उल्लेख छ । पूर्व आप्रवासन निर्देशक टम होम्यनालाई सीमाको जिम्मा दिइने भएको छ ।
पूर्व विधायक जी जेल्डिनलाई यूएस इन्भारमेन्ट प्रोजेक्ट एजेन्सीको जिम्मेवारी दिइएको छ । यस्तै एलाईस स्टेफानिक राष्ट्र सङ्घका लागि अमेरिकी दूतमा चयन हुनुभएको छ । ट्रम्पका लागि महान्यायाधिवक्ता चयन भने चिन्ता र चुनौतीका विषय बनेको छ ।
ट्रम्पको प्रमुख एजेण्डा आप्रवासीबारे ठोस निर्णय गर्न तथा उहाँका विरोधीसँग कानुनी लडाइँ लड्न यी दुवै विषयमा महान्यायाधिवक्ताको भूमिका जरुरी भएको छ । पहिलो कार्यकालमा ट्रम्पले महान्यायाधिवक्ता र गुप्तचर विभाग (एफबीआई) का प्रमुखलाई समेत बर्खास्त गर्नुभएको थियो ।