Saturday, November 23, 2024

बेलडाँगी शरणार्थी शिविरमा ११६औँ देवकोटा जन्मजयन्ती मनाइयो

spot_img

 

कार्तिक १६
दमकको झापास्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा ११६औँ लक्ष्मी जयन्ती मनाइएको छ। द लिटरेरी सोसाइटी अफ भुटानले शुक्रबार एक कार्यक्रम गरी नेपाली साहित्य जगतका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाएको हो।

नेपाली साहित्याकाशका शिखर पुरुष देवकोटाको जन्म विसं १९६६ को कात्तिक कृष्णऔँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। १० वर्षको उमेरमा कविता लेख्न सुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

कार्यक्रममा कवि तथा समाजसेवी थिरुप्रसाद घिमिरे ‘विकल्प’ ले नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको योगदानको चर्चा गर्दै संक्षेपमा देवकोटाको जीवनी प्रस्तुत गर्नुभएको थियो। शरणार्थी बौद्धिक घनश्याम ढकालले देवकोटाको जन्मजयन्ती आयोजना गरेकोमा एल.एस.बी.लाई धन्यवाद ज्ञापन गर्दै श्लोक वाचन गर्नुभएको थियो।

यसैगरी कवि तथा सामाजिक अभियन्ता दिल भुटानीले तत्कालीन समयमा परिवर्तनका लागि सामाजिक जनचेतना फैलाउन देवकोटाका सृजनाहरूको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै संसारभर छरिएर रहेका नेपाली भाषी समुदायलाई भाषिक रूपमा एकताको सूत्रमा बाँधेर राखेको चर्चा गर्नुभयो। एल.एस.बी. अध्यक्ष एवं कार्यक्रमका सभापति तिलक राईले देवकोटाको साहित्यमा माटोको सुगन्ध भेटिने भएकोले आफूहरूको देशसँग साहित्य अभियानका लागि देवकोटाका सृजनाहरू उतिकै सान्दर्भिक रहेको बताउनुभयो। अध्यक्ष राईले देवकोटाको जन्मजयन्ती मनाउने कार्य साहित्यिक-सांस्कृतिक भित्र पर्ने र यसलाई पुस्तान्तरण गर्दै जानुपर्नै बताउनुभयो।

नेपाली साहित्यका महारथी देवकोटाको निधन क्यान्सरका कारण २०१६ साल भाद्र २९ गतेका दिन भएको थियो। आज देवकोटाका भौतिक देह यस संसारमा नभए पनि उनका साहित्यिक कृतिहरूले गर्दा अजर र अमर छन्। जबसम्म नेपाल र नेपाली रहनेछन् तबसम्म उनलाई कसैले पनि बिर्सने छैनन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय