१५ फागुन, काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावले काठमाडौंमा त्रिभुवन विमास्थलबाट हुने उडान प्रभावित भएको छ ।
पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएपछि नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको हो ।
पाकिस्तानले भारतबाट प्रवेश गरेर आफ्नो रुट प्रयोग गर्न अनुमति नदिएपछि हाल नेपालबाट उड्नुपर्ने टर्किस एयरलाइन्स विमानस्थलमै रोकिएको छ । यस्तै कतार एयरलाइन्सको उडान पनि प्रभावित हुने अवस्था आएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
टर्किस एयरलाइन्सलाई अब विकेड रुटबाट पठाउन लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए । उनले विमानस्थलहरुमा कुनै पनि समस्या नरहेको बताउँदै पाकिस्ताले आफ्नो रुट प्रयोग गर्न रोकेकाले वैकल्पिक रुट प्रयोग गरेर टर्किस एयरलाई उडाउन लागिएको जानकारी दिए ।
‘यात्रुको आवमागमनका कमी आएको छैन । अरु खालका कुनै प्रभाव विमानस्थलमा देखिएको छैन,’ क्षेत्रीले भने ।
यसैबीच भारत पाकिस्तान तनावका कारण भारतका पाँचवटा एयरपोर्टमा सर्वसाधारणको उडान प्रभावित भएको छ । भारतको श्रीनगर, जम्मु, लेह, अमृतसर र चण्डीगढ एयरपोर्टको उडान प्रभावित भएको हो ।