Tuesday, October 8, 2024

प्रदेश-१ सरकारको रणनीति : सामुदायिक विद्यालयबाट झोला र किताब विस्थापित

spot_img

४ माघ, विराटनगर । प्रदेश १ का सामुदायिक विद्यालयबाट दशकभित्रमा झोला र किताब विस्थापित गर्ने रणनीति प्रदेश सरकारले तयार गरेको छ । पहिलो चरणमा सरकारले सयवटा सामुदायिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि प्रविधिमैत्री कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

सामाजिक विकास मन्त्रालय र कार्यक्रमको साझेदार संस्थाका रूपमा इक्वालिटी फाउन्डेसन अर्गनाइजेसनबीच सम्झौता गरेर प्रदेश सरकारले पहिलो चरणमा ६ करोडको बास्केट फन्ड तयार गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

फन्डमा प्रदेश सरकार र साझेदारी संस्थाले २–२ करोड उपलब्ध गराउनेछ । मन्त्री घिमिरेका अनुसार सम्बन्धित विद्यालय र विद्यालय रहेको स्थानीय निकायले १–१ लाख पहिलो चरणमा लागनी गर्नेछन् । उनका अनुसार यो क्रम हरेक वर्ष जारी रहने र विद्यालयको छनौट स्थानीय तहले गर्नेछ ।

पहिलो चरणमा परीक्षणका रूपमा प्रदेशभरिका सयवटा विद्यालयमा प्रविधियुक्त कक्षा कोठा कम्प्युटर ल्यावको स्थापना गरिनेछ । त्यसका लागि एक विद्यालय बराबर करिव ६ लाख लाग्ने अनुमान गरिएको घिमिरेकोभनाइ छ । उनका अनुसार त्यसका लागि प्रदेश सरकारले दुई लाख, साझेदारी सस्थाले दुई लाख, सम्बन्धित विद्यालयले एक लाख र स्थानीय निकायले एक लाख लगानी गर्नेछ ।

पहिलो चरणमा सुरु गरिएका विद्यालयको प्रगति अवस्था हेरेर दोस्रो चरणमा हजार विद्यालयमा कार्यक्रम लागू गर्ने सरकारको तयारी छ । प्रदेशमा ३ हजार ५ सय सामुदायिक विद्यालय छन् । दशकभित्रमा ती सबै विद्यालयबाट झोला र किताव हटिसक्ने मन्त्री घिमिरेको भनाइ छ ।

प्रदेश १ मा हाल बालविकासदेखि कक्षा १२ सम्म १० लाख ६० हजार २ सय ३७ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ७ लाख २९ हजार ९ सय ६७ जना सामुदायिक विद्यालयमा अध्ययनरत रहेको मन्त्रालयको तथ्यांक छ ।कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकार र साझेदारी संस्थाको लागनी बाहेक सरकारले समुदायबाट स्रोत जुटाउने तयारी गरेको छ ।

माध्यमिक तहमा स्रोत जुटाउन सरकारले पूर्वविद्यार्थीलाई परिचालन गर्ने तयारी गरेको छ ।हरेक सामुदायिक विद्यालयमा पूर्वविद्यार्थीको सञ्जाल निर्माण हुनेछ । मन्त्री घिमिरेले भने त्यो सञ्जालले आफू पढेको विद्यालयलाई आर्थिक र भौतिक सहयोग जुटाउनेछ ।

त्यसैगरी बालबालिकाका आमालाई विद्यालयप्रति जागरूक बनाउन प्राइमरी तहमा आमा समूहलाई परिचालन गर्ने मन्त्रालयको तयारी छ । प्राइमरीतहमा पढ्ने हरेक बालबालिकाका आमालाई टिफिन बक्स दिइनेछ ।‘टिफिन बक्स दिएपछि बालबालिकाका आमा हरेक दिन टिफिन लिएर विद्यालय पुग्छ,’ मन्त्री घिमिरेले भने, ‘यो अभियानले आमाहरू विद्यालय र आफ्ना बालबालिकाको शैक्षिक अवस्थाप्रति जागरूक बन्नेछन् ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय