काठमाडौं – सरकारले रोजगारदाता र रोजगार खोज्नेहरुलाई लक्षित गरेर ‘जबखोज’ नामक मोबाइल एप सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शुक्रबार एक कार्यक्रममा बिच एप सार्वजनिक गर्नुभएको हो । एन्ड्रोएडको गुगल प्ले स्टोर र आइओएसको एप स्टोर दुवैमा एप उपलब्ध छ ।
त्यस्तै रोजगार सेवा (सूचना) केन्द्रको पोर्टल पनि परिस्कृत गरिएको छ । www.jobkhoj.gov.np लाई परिस्कृत गर्दै रोजगारदाता र रोजगार खोज्नेलाई दुवैलाई सजिलो हुने गरी बनाइएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा ल्याइएको एप र पोर्टलमार्फत रोजगार खोज्नेले आफ्नो नाम दर्ता गराउन सक्नेछन् भने रोजगारदाताले आवश्यक जनशक्ति प्राप्त गर्न सक्नेछन् ।
रोजगार सेवा (सूचना) केन्द्रले रोजगार खोज्नेहरु र रोजगारदाताको विवरण राख्नेछ । केन्द्रले आवश्यकताका आधारमा दुई पक्षको सहजिकरण गर्न सक्नेछ । बेरोजगारी युवाको तथ्याङ्क संकलन गर्ने, बेरोजगारीको स्थिति पहिचान गर्न, केन्द्र तथा स्थानीय तहमा रोजगारीको क्षेत्र तथा अवसर खोजी गर्न रोजगार एप र पोर्टल ल्याइएको हो ।