Monday, October 7, 2024

विरिङ उत्खननमा अवरोध : ठेकेदारले फिर्ता मागे पैसा

spot_img

अर्जुनधारा । ठेक्का सम्झौताअनुरुप नदीजन्य सामग्री उत्खनन् गर्न नपाएको भन्दै अर्जुनधारा नगरपालिका–८ स्थित एस यु एस कन्सट्रक्सनले रकम फिर्ताको माग गरेको छ । स्थानीयबासीले विरिङ खोला खन्न नदिएको भन्दै कन्सट्रक्सनले ठेक्कावापतको रकम फिर्ता गर्न नगरपालिकासँग माग गरेको हो ।

एस यु एस कन्सट्रक्सनले अर्जुनधारा नगरपालिकामार्फत आर्थिक वर्ष २०७५÷०७६ का लागि विरिङ, टाङटिङ र नेते खोला उत्खनन् गर्ने ठेक्का पाएको थियो । २ करोड ६१ लाखमा ठेक्का पाएको कन्सट्रक्सनले टाङटिङ र नेते खोला उत्खनन् गरे पनि स्थानीयबासीको निरन्तरको अवरोधका कारण विरिङ खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा निकाल्न सकेको छैन ।
‘खोलामा स्काभेटर लिएर जाँदा सधैँ अवरोध भइरहेको छ,’ एस यु एस कन्सट्रक्सनका प्रवन्धक उत्सव ढकालले भने, ‘नगरपालिकाले पहल गर्दा पनि अवरोध हटाउन सकेन र हामी अदालतसम्मै पुग्यौँ ।’ उच्च अदालत इलाम इजलासले नगरपालिकालाई ठेक्कासम्झौता तत्काल कार्यान्वयन गराउन आदेश गरे पनि नगरपालिकाले कार्यान्वयन गराउन नसकेको निर्माण व्यवसायी राजकुमार थापाले बताए । ‘अदालतको अध्यादेशसहित जाँदा पनि स्थानीयबाट अवरोध भइरहेको छ,’ उनले भने, ‘हामीले नगरपालिकाको खातामा रकम अग्रिम भुक्तानी गरेका थियौँ, अब त्यो फिर्ता हुनुपर्छ ।’

आफूहरुले खन्न नसकेको ठाउँको मात्र रकम फिर्ता मागेको एस यु एस कन्सट्रक्सनका प्रवन्धक ढकालले बताए । ठेक्का सम्झौताअनुसार कम्पनीले विरिङबाट १ लाख ३७ हजार घन मिटर क्षेत्रफलबाट गिटी, बालुवा निकाल्न बाँकी छ । सोवापतको एक करोड ४० लाख रुपैयाँ फिर्ता गर्न कन्स्ट्रक्सनले माग गरेको छ । तर, अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाले राज्यकोषमा जम्मा भइसकेको रकम फर्काउन नमिल्ने जवाफ दिएको उनले सुनाए । खोला उत्खनन गर्ने वातावरण बनाइदिन नगरपालिकाले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेख्दा समेत प्रजिअले बेवास्ता गरेको कन्सट्रक्सनको आरोप छ । ‘यति सामान्य कुरा कार्यान्वयन गराउन सक्नुहुन्न भने प्रमुख जिल्ला अधिकारीको कामचाहिँ के हो ?,’ निर्माण व्यवसायी राजकुमार थापाले प्रश्न गरे ।

स्थानीयबासीहरु दिवा सापकोटा, सागर बस्नेत, डम्बर प्याकुरेल, बिर्ख बस्नेत, भीम नेपाल, उपेन्द्र बस्नेत लगायतले खोलामा अवरोध पु¥याउँदै आएको एस यु एस कन्सट्रक्सनले जनाएको छ । वर्षायाम सुरु भएसँगै जिल्ला समन्वय समितिले असारदेखि तीन महिनासम्म खोला उत्खनन कार्यमा रोक लगाउँछ । सोही कारण एस यु एस कन्सट्रक्सनले जेठ मसान्तभित्रै विरिङ खोलाबाट नदीजन्य सामग्री उत्खनन् गरिसक्नुपर्ने हुन्छ । तर, स्थानीयको अवरोधका कारण काम गर्न नसकिएको कन्सट्रक्सनका प्रवन्धक ढकालले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय